एमालेको केन्द्रीय कमिटी बैठकका लागि १४ एजेण्डा तय

काठमाडौ । नेकपा एमालेको शनिबार शुरु हुने केन्द्रीय कमिटी बैठकका लागि १४ एजेण्डा तय गरिएको छ । भक्तपुरको गठ्ठाघरमा बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो गठन, केन्द्रीय सदस्य मनोनयन देखि नेताहरुको वरियताक्रम निर्धारण समेत गरिनेछ ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, बाँकी केन्द्रीय सदस्यहरुको शपथ, महाधिवेशनको समीक्षा, केन्द्रीय सल्लाहकार परिषद् गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, प्रदेशमा रिक्त पदाधिकारी मनोनयन केन्द्रीय कमिटी बैठकले गर्नेछ । यस्तै, जिल्ला र प्रदेश अधिवेशन, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि र केन्द्रीय कार्यालय व्यवस्थापनबारे छलफल हुनेछ ।
बैठकले महाधिवेशनको सन्देश र पार्टी प्रवेश अभियानबारे समीक्षा र जनसंगठन सुदृढिकरण अभियानबारे समेत निर्णय गरिने तामाङले बताए ।