सत्तारुढ दलको चुनावी गठबन्धन बालुवा र तासको घरको हो –विष्णु पौडेल

काठमाडौं । सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको एमालेका उपाध्यक्ष विष्णु पौडेलले संज्ञा दिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन पनि भताभुंग हुने टिप्पणी गरेका छन् । एमालेका निम्ति गठबन्धन केही नभएको र केपी ओली र एमालेप्रतिको बढ्दो आकर्षणले एमालेले चुनाव जितिसकेको पौडेलको भनाई छ ।

उनले एमाले नेतृत्वमा रहँदा संघ, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा काम र आगामी योजना बनाएर चुनावमा मत माग्न जान पनि कार्यकर्तालाई निर्देशन दिए । उनले टिकट वितरणलाई लिएर असन्तुष्टि व्यक्त गर्ने छुट एमालेका कुनै कार्यकर्तालाई नभएको बताए । पौडेलले कुनै पनि खालका भ्रम र आशंका नपाली चुनावमा दिनरात खटिन पनि कार्यकर्तालाई निर्देशन दिए । उपाध्यक्ष पौडेल केही दिनदेखि रुपन्देहीका स्थानीय तहहरुमा चुनावी माहौल बनाउन सक्रिय छन् । उनले सत्ता गठन्धनभित्रका धेरै नेता कार्यकर्ता एमालेमा आउन चाहिरहेको भन्दै यसको नतीजा चुनावपछि देखिने पनि बताए ।