निर्वाचनमा पार्टी निर्णय विपरीत जानेलाई कारबाही गरिने शेखर कोइरालाको भनाई

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टी निर्णय विपरीत जानेलाई कारबाही हुने बताएका छन्।आज मोरङको सुन्दरहरैंचा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

उनले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गर्दै अघि बढ्न कार्यकतालाई सुझाव दिएका छन् । पार्टीभित्र आन्तरिक रूपमा आफ्नो विचार एकप्रकारको भए पनि पार्टीको निर्णयलाई अस्वीकार गर्न नहुने उनको भनाइ छ।स्थानीय तह निर्वाचनमा पार्टीको निर्देशनबाट असन्तुष्टले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको सन्दर्भमा नेता कोइरालाले निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताए।

उनले बागी, स्वतन्त्र उम्मेदवारी दिएर पार्टीलाई कमजोर बनाउने भन्दा पनि पार्टीलाई बलियो बनाउने सबैको भूमिका एक हुनुपर्ने बताए । पार्टी विधानले नै बागी उम्मेदवार तथा प्रस्तावकलाई कारबाही गर्ने उनको भनाई छ । अब सबैले एकढिक्का भएर पार्टी र पार्टीले अघि बढाएको उम्मेदवारलाई विजयी गराउन तर्फ लाग्नु पर्ने नेता कोइरालाको भनाई छ ।