निर्वाचनको मुखमा भारत गइरहेका नेपाली भन्छन् – हाम्रो परिवार कसले पाल्ने ?

काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब नौ दिन बाँकी छ । तर, मंगलबार बेलुका गौरिफण्टा नाकामा भारत जाने नेपाली लामबद्ध थिए । देश चुनावमय भइरहेका बेला भारत गइरहेका उनीहरूलाई भरत जाने रहर भने हैन, घरमा ऋणको भार थपिनु र स्वदेशमा रोजगारीको सुनिश्चितता नहुँदा चुनावको मुखमा पनि भारत जानुपर्ने उनीहरूको बाध्यता हो ।गाउँघरमा चुनाव लागेको तर हामीलाई भने ऋणले च्यापेकाले घरमा बसेर परिवार पाल्न नसकिने देखिएपछि बाध्य भएर भारत जानुपरेको अछामको तुर्माखाँद गाउँपलिका–२ का विशाल रावलले बताए ।

नेता र उनीहरूको पछि लागेर फाइदा लिनेलाई मात्र चुनाव लागेको उनी भन्छन् । घरघरमा नेता आएर चुनावमा सहयोग गर्नुपर्छ भन्दै थिए र हाम्रो परिवार कसले पाल्छ भन्दा कसैले भरोसा दिन नसकेको उनी बताउँछन् । जनताको गाँसबासको सुनिश्चितता गर्न नसक्ने उम्मेदवारलाई भोट दिनुको औचित्य नै देखिएन । यो चुनाव नेता र आसेपासेका लागि मात्रै आएको उनको भनाई छ । सोही ठाउँका हिमाल रावल नयाँ वर्ष मनाउन भारतको दिल्लीबाट घर फर्केका थिए । चुनावको मुखैमा उनी फेरि रोजगारीका लागि भारत नै फर्केका छन् । भारतबाट कमाएर ल्याएको पैसा घरमा परेको ऋण तिर्नमै ठिक भएको भन्दै उनले छोराछोरीलाई स्कुल पढाउन स्मस्या हुने देखिएपछि पुनः भारत हिँडेको बताए ।

चुनावका बेला मात्रै नेताहरू आफ्ना हुने गरेको भन्दै उनले चुनावपछि कसैले नचिन्ने उनी बताउँछन् । चुनावमा गाउँ बस्नुभन्दा दुई चार पैसा कमाउन सकिन्छ भनेर भारत जाँन लागेको उनको भनाइृ छ । नयाँ वर्ष मनाउन चैत अन्तिम साता नेपाल आएका उनी एक महिना पनि घरमा बसेर पुनः भारत तर्फ फर्कन लागेका हुन् ।आफु भारत हुँदा घर खर्च चलाउन परिवारले गाउँमा निकालेको ऋण तिर्नमै सकियो र बचेको पैसा नयाँ वर्ष मनाउनमै सकिएकाले लामो समय घरमा बस्दा फेरि ऋण पर्ने भएपछि भारत फर्केको उनको भनाई छ ।

यसअघि निर्वाचनको समयमा नेताहरुले थुप्रै आश्वास दिए पनि जनताको जीवनमा परिवर्तन नआएको हिमालले बताए । ‘२०७४ को निर्वाचनमा स्थानीय स्तरमै रोजगारीको व्यवस्था गर्ने एजेण्डा सबै उम्मेदवारको प्राथमिकतामा थियो तर पाँच वर्षसम्म गाउँमा कुनै रोजगारीका अवसर सृजना नभएको उनी बताउँछन् । अहिले पनि उम्मेदवार त्यही नारा लिएर गाउँ आइरहेका छन् र अब उनीहरुलाई पत्याउँन नसकिने बताए ।

भारत जान लागेका बझाङको छबिस पाथिभेरा गाउँपालिका–३ का नवराज जोशीले अघिल्लो स्थानीय तहको निर्वाचनमा उत्साहका साथ उम्मेदवारको पछि लागेको बताए । गाउँगाउँमा विकासको लहर ल्याउँछौं, भारत जानुपर्ने बाध्यताको अन्त्य गछौं, नि.शुल्क शिक्षा प्रदान गछौं, डाक्टरसहितको स्वास्थ्य चौकी बनाउँछौं भन्दै अघिल्लो चुनावमा नेताहरूले नारा लगाएका थिए र ती नारा चुनावपछि हराएको उनी बताउँछन् । त्यसैले यस पटकको चुनावप्रति कुनै उत्साह नजागेको र गाउँमा हल्लिएर बस्नुभन्दा भारततर्फ जान ठिक लागेको उनको भनाई थियो ।