एमाले नारायण नगर दैलेखको घोषणापत्र सार्वजनिक

दैलेख। यहि बैशाख ३० गते आसन्न स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचनलाई मध्यनजर गर्दै दैलेखको नारायण नगरपालिकामा नेकपा एमालले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नगरमा एमालेले मेयरमा लोमन शर्मा र उपमेयरमा तप्ता कुमारी थापा खड्कालाई अघि सारेको छ । उम्मेदवारद्वय शर्मा र थापाले ४० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

दैलेख सदरमुकामदेखि महावु, कालिकोटहुँदै रारा पुग्ने सडकलाई ३ वर्ष भित्र सम्पन्न गरी दैलेख सदरमुकामलाई कर्णाली प्रदेशकै प्रमुख व्यापारिक केन्द्रको रूपमा विकास गरिने प्रतिबद्धतामा उल्लेख छ । नगरदेखि प्रत्येक वडाको केन्द्र म्मका सडक २ वर्षभित्र कालोपत्रे गर्ने र नगरवासीलाई यातायात सेवा प्रदान गर्न नगर बस सञ्चालन गर्नेसम्मका प्रतिबद्धता घोषणापत्रमा उल्लेख गरिएको छ ।

एमालेले सार्वजनिक गरेको घोषणापत्रमा भ्रष्टाचारमुक्त नगरपालिका निर्माण गर्नेदेखि प्रत्येक वडाका २५ जना युवायुवतीलाई रोजगारी दिने बताइएको छ । घोषणापत्रमार्फत मेयर र उपमेयरमा उम्मेदवारहरुले नारायण नगरपालिका भित्रका उपभोत्ताहरुले तिर्दै आएको खानेपानीको चर्को मूल्यलाई कटौती गरी न्यूनतम शुल्क मिनाहा गर्ने, न्यूनतम भन्दा माथिको शुल्क मात्र तिर्नपर्ने व्यवस्था गर्ने प्रतिबद्धता पत्रमा भनिएको छ।

त्यस्तै ‘एक घर एक धाराको व्यवस्थापन गर्दै भूमिहिन रातमाटे दलित बस्ती, नमुना बादी बस्तीलगायत अति विपन्न दलित परिवारको लागि खानेपानीको धारा जडान गर्न लाग्ने महशुल छुट गर्ने र सामग्रीहरू निःशुल्क प्रदान गर्ने घोषणापत्रमा भनिएको छ ।

यस्तै, सुत्केरी र ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरू, अपाङ्गता भएका व्यक्ति र असहायलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, एकल पुरुषलाई यसै आर्थिक वर्षबाट मासिक भत्ताको सुरुवात गर्ने एमाले नारायण नगरका उम्मेदवारहरुको घोषणापत्रमा लेखिएको छ ।

नगरको बजार क्षेत्रमा मिनी स्टेडियम निर्माण, खेलकुद क्षेत्रको विकास गर्न प्रत्येक वडामा खेलकुद मैदान निर्माण, भारतलगायत वैदेशिक रोजगारीमा गएका युवाहरूलाई नगरभित्रै रोजगारी दिन रोजगार बैकको स्थापना गरी प्रत्येक वडामा २५ जनालाई रोजगारी प्रदान गरिने उनीहरुको प्रतिबद्धतामा उल्लेख छ ।