बाँकेमा ६ हजार २ सय सुरक्षाकर्मी र कर्मचारी परिचालन

बाँके । बाँकेमा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिब ६ हजार २ सय परिचालन गरिने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारी अनुसार स्थानीय निर्वाचनका लागि जिल्लाका ८ वटै पालिकामा निजामती र संस्थानका कर्मचारी गरी २ हजार २ सय जना परिचालन भएका छन् ।

यसैगरी स्थानीय तह निर्वाचनका लागि ४ हजार बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । बाँकेमा १ सय ३६ मतदान केन्द्र र ३ सय ७९ मतदान स्थल रहेका छन् ।

उनले बाँकेका १ सय ३६ मतदान केन्द्र मध्ये १ सय ६ मतदान केन्द्र अत्यन्तै संवेदनशील भएको र ३० मतदान केन्द्र संवेदनशील रहेको सुरक्षा विश्लेषण गरी त्यसै अनुरूप सुरक्षा प्रबन्ध मिलाइएको बताए । स्थानीय तह निर्वाचनको सुरक्षाको लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै सुरक्षा जिम्मेवारी रहेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।

उनले बाँके भारतसँग खुला सीमा जोडिएको जिल्ला भएकोले पनि यहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मतदान केन्द्रलाई अतिसंवेदनशील र संवेदनशीलको रूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाएको बताए । भारतसँग सीमा जोडिएका पालिकाको वडामा रहेका मतदान केन्द्रहरू अत्यन्तै संवेदनशील रहेको सुरक्षा विश्लेषण रहेको उनको भनाई छ ।

उनले मतदान केन्द्रको सुरक्षा तीन प्रकारका सुरक्षा निकायले आपसी समन्वयमा गर्ने र शान्तिपूर्वक मतदान गराउन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयम सेवकको भूमिका रहने गरी व्यवस्था मिलाइएको बताए । उनले मतदानमा खटिने मतदान अधिकृत सहायक मतदान अधिकृत र कर्मचारीलाई आवश्यक तालिम दिएर पठाइएको बताए ।

उनले निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउनको लागि नेपाल–भारत सीमा ७२ घण्टाको लागि शील गर्ने दुई पक्षीय सहमति भई सकेको र २०७९ वैशाख २७ गते राती १२ बजेदेखि ३० गते राती १२ बजेसम्म सीमा क्षेत्रबाट आवागमन पूर्ण रूपले बन्द हुने जानकारी दिँए । उनले स्थानीय तहको निर्वाचन हुने कुरा काउन्टर पार्टसलाई जानकारी गराउँदै ७२ घण्टा सीमा शील गर्ने सहमति गरेको बताए ।