हुम्लामा निर्वाचन अधिकृतले आचारसंहिता विपरीत काम गरेको आरोप

सुर्खेत।आसन्न स्थानीय तहको निर्वाचन आउन २ दिन मात्र बाँकी छ । यहि बैशाख ३० गते निर्वाचन हुँदै छ । हुम्ला जिल्ला अदानचुली गाउँपालिका मा खटिएका निर्वाचन अधिकृतले निर्वाचन आचारसंहिता विपरीत काम गरेको भन्दै सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले कारबाही गर्न माग गरेको छ । आज नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विज्ञप्ति जारी गर्दै कारबाही नगरिको खण्डमा चुनावसमेत रोक्ने चेतावनी दिएका छन् ।

निर्वाचन हुनु अगाडी नै कानुन विपरीत सक्कल मतपत्र एउटा दललाई मात्र वितरण गरेको तथा सर्वदलीय सहमति नहुँदै प्रेसमा सूचना प्रसारण गरेको र निर्वाचन अधिकृत स्वयमले निर्वाचन जस्तो संवेदनशील समयमा पूर्व गाउँपालिका अध्यक्ष र एमालेबाट हाल गाउँपालिका अध्यक्ष उम्मेदवार दल फडेराको घरमा गएर बस्ने र खानपिन गर्ने गरेको उनीहरूको आरोप छ ।

विज्ञप्तिमा निर्वाचन अधिकृतले निर्वाचन आचार संहिता विपरीत सर्वदलीय सहमति बिना एकलौटी रूपमा काम गरेको आरोप लगाइएको छ । गाउँपालिमा करार कर्मचारी रूपमा काम गर्ने र उम्मेदवारका घरभित्रकै मान्छेलाई निर्वाचनलाई प्रभावित पार्ने गरी आचारसंहिता विपरीत निर्वाचन कर्मचारीको रूपमा नियुक्ति गरेको उनीहरूको आरोप छ ।