स्थानीय निर्वाचन, गाउँ भरिए, सहर रित्तिए

सुर्खेत । स्थानीय तहको निर्वाचन हुन दुई दिन बाँकी रहँदा सहर बजार खाली हुन थालेका छन् । स्थानीय तहका नयाँ जनप्रतिनिधि चुन्न नागरिकहरू सहर छाडेर गाउँतिर लागेका हुन् । सुर्खेतको वीरेन्द्रनगर बजारमा दुई दिनदेखि गाउँमा जानेको ताँती लागेको छ । कर्णालीका सबै बजार क्षेत्र र सदरमुकाम खाली हुन थालेका छन् ।

सुर्खेतदेखि बाहिर जिल्लामा जानेकोख संख्या निकै वृद्धि भएको अहिले बस काउन्टरमा टिकट पाउन नै गाह्रो भएको सुर्खेत बसपार्कमा टिकट काउन्टरमा काम गर्ने अक्कल कार्कीले बताए । गाउँ जानेको संख्या निकै वृद्धि भएको र यात्रुको चाप बढी हुँदा यातायातको टिकट पाउन मुस्किल परेको बताए ।

सहरमा रहेका मतदातालाई उम्मेदवारहरूले गाडी रिजर्भ गरेर गाउँगाउँ लैजाने गरेको सुर्खेत बसपार्कमा भेटिएका जुम्ला कनकासुन्दरी गाउँपालिकाका राजकुमार बुढाले बताए । मतदाताहरू गाउँगाउँमा जाँदा सुर्खेत बजारको व्यापार व्यवसायमा कमी आएको व्यापारी रामबहादुर मगरले बताए । सुर्खेत बजारमा प्रायः पसल बन्द रहेको र मतदाताहरू गाउँमा गएका कारणले व्यापारमा कमी आएको उनले बताए ।निर्वाचन नजिकएपछि गाउँमा गाउँमा मानिसहरु भरिभराउ हुन थालेको र आ–आफ्नो पक्षमा मत माग्न थालेको कालीकोट नरहरिनाथ गाउँपालिका–९ लालुका रोहन बिष्टले बताए ।