सल्यानमा मतदाता भेट्न निर्वाचित जनप्रतिनिधि टोलटोलमा

सल्यान । ३० वैशाखको स्थानीय तहको निर्वाचनबाट सल्यानको दार्मा गाउँपालिकामा निर्वाचित जनप्रतिनिधि मतदातासँग भेटघाट कार्यक्रम सुरु गरेका छन् । गाउँपालिका अध्यक्ष निमबहादुर केसी लगायतका जनप्रतिनिधिले दार्मा गाउपालिकामा मतदातासँग भेटघाट गरेका छन् ।

शुक्रबार शपथ ग्रहण गरेपछि शनिबारबाट मतदातालाई भेटघाटको कार्यक्रम सुरु गरेको अध्यक्ष केसीले बताए । शनिबार वडा नम्वर २ को ओजाबाङ , पाथिखोला, कौछे, लिगा र वडा नम्बर ४ को रातामाटा, गलात, सउखालि,नकालगाउ,सिङ्गारीकोट, रामिडाडा, पुखात लगायतका स्थानमा गएर मतदाताहरुसँग भेटघाट गरेको अध्यक्ष केसीले बताए । भेट्का क्रममा अध्यक्षले निर्वाचित भई सकेपछि आफू पार्टीको नभएर समग्र दर्माली जनताको प्रतिनिधि भएकाले सबैलाई समान दृष्टिकोणले हेर्ने दाबी गरे ।

दार्माको विकासमा यो र त्यो पार्टी नभनेर गुणस्तरीय विकासका लागि काम गर्ने उनले बताए । दार्मा सल्यान जिल्लाकै विकट बस्ती भएकाले विकासमा पछाडि परेको र स्थानीय सरकार भएपछि दार्माले अबको पाँच वर्षमा दार्मा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन आफ्नो टिम लाग्ने उनले बताए ।

पाँच वर्षमा जनताको मतदानलाई नबिर्सेर समृद्ध दार्मा बनाउन लागि पर्नेमा उनले जोड दिए । सबै जनताले आफूलाई विश्वास गरेर फ़ेरि निर्वाचित गराएकाले सबको भावना अनुसार काम गर्ने उनको भनाई छ ।दार्मामा शिक्षा, स्वस्थ्य, यातायात, खानेपानी रोजगारका विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको छ ।