अफगानिस्तानमा शृंखलाबद्ध विस्फोट, १२ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा बुधबार मिनिबस र एउटा मस्जिदमा भएका अलग अलग विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गत वर्ष अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि देशभर बम आक्रमणको संख्या घटेको थियो । तर रमजानको पवित्र महिनामा धेरै घातक बम विस्फोटहरू भएका छन् ।

बुधबार उत्तरी सहर मजार–ए–सरिफमा छुट्टाछुट्टै मिनी बसहरूमा राखिएका तीनवटा बम विस्फोट हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको प्रहरी र स्वास्थ्य अधिकारीले बताएका छन् ।‘बमहरू सहरका विभिन्न जिल्लामा तीनवटा मिनी बसहरूमा राखिएको थियो’, बाल्ख प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले भने । विस्फोटमा अन्य १५ जना घाइते भएका छन् । मारिनेहरूमा तीन जना महिला छन् ।

त्यस्तै, राजधानी काबुलस्थित एउटा मस्जिदमा अर्को वम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन् । तर, काबुलको एक अस्पतालले सो विस्फोटमा मारिनेको संख्या पाँच पुगेको जनाएको छ । मस्जिदको पंखाभित्र बम राखिएको प्राप्त विवरणमा जनाइएको छ ।