आठबीसका निवर्तमान जनप्रतिनिधिहरुको बिदाई

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाका निवर्तमान जनप्रतिनिधिहरुको बिदाई गरिएको छ । नगरपालिकाले शुक्रबार निवर्तमान जनप्रतिनिधिहरुको बिदाई गरेको हो ।

नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा आठबीस नगरपालिका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत समेत गरिएको छ ।

उक्त कार्यक्रममा नगरपालिकाका निवर्तमान नगरप्रमुख खड्गराज उपाध्यायले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिँदै जनताको सेवाको लागि सधै साथ दिएर अगाडी बढ्ने आग्रह गरे साथै उपाध्यायले विगतको पाँच वर्षको समिक्षा र नयाँ कार्य योजनामा महत्वका साथ अगाडी बढ्न सुझाव दिए ।

निवर्तमान उपप्रमुख दिपा बोहोराले आठबीस नगपालिकाको समग्र विकासका लागि पक्ष/विपक्षमा नरहेर जनताको अपेक्षा अनुरूप अगाडी बढ्न र आठबीसका सम्पूर्ण जनतालाई सेवा प्रवाह गर्ने विषयमा गम्भीर भएर लाग्न सुझाव दिईन् ।

यस्तै, नगरपालिकाका नगर प्रमुख तर्कबहादुर बडुवालले सम्पूर्ण आठबीसवासीले दिएको जिम्मेवारीलाई गम्भीरता पूर्वक सोचेर नगरको विकास र समृद्धिका लागि काम गर्ने बताए ।

प्रमुख बडुवालले सम्पुर्ण जनप्रतिनिधिहरूलाई आफ्नो जिम्मेवारीलाई एकदमै महत्वका साथ गम्भीर रुपमा लिएर जनताको पक्षमा उभिएर कामगर्न सुझाव दिँदै नगरवासीको सल्लाह–सुझावको अपेक्षासहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

नगर उपप्रमुख कल्पना थापाले नगरबासीलाई धन्यवाद दिँदै, नगरवासीको साथलले यो अवस्थामा पुग्न सफल भएको बताईन् । उनले भनिन्, ‘गत वैशाख ३० गते सम्म म उम्मेदवार थिएँ, अहिले म सम्पूर्ण आठबीसवासीको जनप्रतिनिधि हुँ, आठबीस नगरपालिका एउटा परिवार हो, जसले सम्पूर्ण समस्याको समाधान गर्ने तर्फ अगाडी बढ्ने छौं ।’

यस्तै, थापाले आठबीसका नागरिकलाई काठमाडौंसँग जोड्न प्रयास गर्ने र काठमाडौंमा पाईने सेवा सुविधाको अनुभूति हुनेगरी नगरपालिका लागि परेको बताईन् ।