अर्थमन्त्रीको विषयमा उठेका विवादबारे तत्काल छानबिन गर्नुपर्छ – पूर्णबहादुर खड्का

सुर्खेत । अर्थमन्त्री जनार्दन शर्माको विषयमा उठेका विवादबारे तत्काल छानबिन गर्न नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उपसभापति खड्काले बजेट निर्माणका विषयमा विवादित बनेका अर्थमन्त्री शर्माबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताएका छन् ।

उनले बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर संसद र आम जनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यसलार्ई विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुने जिकिर गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मामाथि संसदमा बजेट प्रस्तुत गर्नु अघिल्लो मध्यराति अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएर करका दर नै हेरफेर गरेको आरोप लागेको छ । यस पछि अर्थ मन्त्रालयको सिसिटीभि फुटेज पनि नभएको जवाफ दिए पछि उनको चर्को आलोचना भईरहेको छ ।