कर्णाली प्रदेश सरकारद्वारा बजेट पारित, कसले कति खर्च गरे ?

सुर्खेत । आज कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९–०८० का लागि कर्णाली प्रदेश सभामा पेश गरेको बजेट पारित गरेको छ । असार १ गते प्रदेश सभामा पेश गरेको ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट आज पारित गरेको हो । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८–७९ मा ६२–३७ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार चालू आर्थिक वर्षको ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजारमध्ये २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ बजेट खर्च भएको छ ।

कर्णालीमा चालू आवमा प्रदेश व्यवस्थापिकाले ७८ प्रतिशत, प्रदेश लोक सेवा आयोगले ७४, मुख्यन्यायाधिवक्ता कार्यालयले ९५, प्रदेश योजना आयोगले ३७ प्रतिशत बजेट खर्च गरेका छन् ।प्रदेश लेखा नियन्त्रक बमले प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकाय, कार्यालयहरुबाट विनियोजित बजेटमध्ये चालूतर्फ नौ अर्ब १२ करोड ८१ लख २४ हजार ३४८ तथा पुँजीगततर्फ रु। १४ अर्ब ७५ करोड १७ लाख ८५ हजार ४२६ खर्च भएको जानकारी दिए ।

मन्त्रालयहरुतर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ६७, सामाजिक विकास मन्त्रालयले ७३, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ४७, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ३८, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ७५, जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ७२, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ६५, आर्थिक मामिला तथा योजना मन्त्रालयले ७१ प्रतिशत बजेट खर्च गरेका छन् ।