केन्द्रीय सदस्य सुर्यबहादुर राईले छाडे बाबुराम भट्टराईको साथ

काठमाडौं ।वैकल्पिक शिक्षाको अभियान्ता सुर्यबहादुर राईले डा.बाबुराम भट्टराईको साथ छाडेका छन् । डा.भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेको केही समयपछि राईले सो पार्टीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराई निकट राई नवगठित नेपाल समाजवादी पार्टीमा आवद्ध हुने अनुमान गरिएको थियो ।

भट्टराई जसपाबाट अलग हुनु अगाडि राई जसपाका केन्द्रीय सदस्य थिए । तर, उनले आइतबार सामाजिक सञ्जालमार्फत नेपाल समाजवादी पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराईको साथ छाडेपनि समावेसी, सुशासन र समृद्धिको लागि बैकल्पिक राजनितीको यात्रा भने जारी राख्ने राईले बताएका छन् ।

राईले बैकल्पिक शक्तीको उदयका लागि नयाँ सोचका साथ देशव्यापी अभियान सञ्चालन भइरहेको प्रतिक्रिया दिए । ‘नेपालको आर्थिक, सामाजिक अवस्था परिवर्तनको अभियानमा सामेल हुनुपर्छ भन्ने सोच आयो । यसै सोचका साथ उत्साहित भएर बैकल्पिक राजनीतिक यात्रा तय गरियो । यो यात्रामा बैकल्पिक राजनीतिको गन्तव्य ठिक ढंगले अगाडि बढेन ।

राईले कृषिविज्ञ मदन राईसँगको सहकार्यमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शुभम फाउण्डेसनमार्फत व्यवहारिक शिक्षाको अभ्यास गर्दै आएका छन् । कृषिविज्ञ राईले शनिबार नै डा.भट्टराईसँगको साथ छाडेको घोषणा गरिसकेका छन् । यस्तै, जसपाका नेता मोहन गुरुङले पनि राजनैतिक एजेण्डा कायम राख्नेगरी स्वतन्त्र भएको घोषणा गरेका छन् ।