महिलाहरु प्रत्यक्ष चुनावमा उम्मेदवार बन्‍न तयार र सक्षम छन् –रंगमती शाही

काठमाडौं ।महिलाहरु समानुपातिकमा मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्‍न पनि तयार र सक्षम रहेको नेपाली काँग्रेसकी सांसद रंगमती शाहीले बताएकी छन् ।आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्‍ने व्यवस्था कानुनमा नै बाध्यकारी बनाउनुपर्ने उनको भनाई छ ।

महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैँ विभेदपूर्ण रहेको सांसद शाहीले बताइन् । आगामी निर्वाचनमा महिलालाई प्रत्यक्ष निर्वाचनमा उठाएर विजयी सुनिश्चित गर्नुपर्ने उनको माग छ । गत स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गरेर जाँदा महिला उम्मेदवारी अनिवार्य नभएको उल्लेख गर्दै आगामी संघ र प्रदेश सदस्यको निर्वाचनमा प्रत्यक्षमा महिला उम्मेदवार संविधान बमोजिम सुनिश्चित गर्नुपर्ने सांसद शाहीको भनाई छ ।