सुर्खेत । कर्णाली र सुदुरपश्चिम आसपासका जंगलहरूमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय समयको चक्रसँगै परिर्वतन हुँदै आएका छन् । अन्य समुदायको नजिक नै पर्न नरुचाउने याे समुदाय अहिले आफ्ना समस्याबारे सरकारसँग प्रश्न गर्न थालेका छन् ।
यही क्रममा राउटे समुदायका बालबालिकाले बालअधिकारको हतहितको लागि कर्णालीका मुख्यमन्त्रीलाई प्रश्न गरेका छन् । लोपोन्मुख राउटे समुदायका एक बालकले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग फोनमार्फत आफ्ना हकहितसम्बन्धी मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए ।
दैलेखको भगवतीमाइ गाउँपालिकाबाट फोनमार्फत राउटे बालक सुविन शाहीले अन्य बालबालिका जस्तै हामीले पढ्न किन पाउँदैनौँ ?,’ सरकारले हाम्रा लागि पनि योजना किन ल्याउँदैन ?, ’ भन्दै जवाफ मागे ।
शाहीको प्रश्नमा मुख्यमन्त्री शाहीले राउटे बालबालिका पढ्न चाहेको खण्डमा आफूहरू विद्यालयसमेत खोलिदिन तयार रहेको बताए । ‘राउटे समुदायका बालबालिका पढ्न नै चाहँदैनन्,’ उनले भने, ‘तपाईहरू पढ्न तयार भएको खण्डमा हामी घर पनि बनाईदिन तयार छौँ तर मान्नुहुन्न ।’
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
मुख्यमन्त्री शाहीकै गृहजिल्ला हुम्लाका एक बालकले आफ्नो विद्यालयमा पुस्तक नपुग्दा पढ्न असहज भएको बताए । जवाफमा मुख्यमन्त्री शाहीले केही जिल्लामा पुस्तक उपलब्ध गराउन नसकेको स्वीकार गर्दै चाँडै नै पुस्तक उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सुर्खेतका सारिका प्रधान र दर्पण शाहीले निजी र सरकारी विद्यालयबीच सरकारले किन विभेद गरिरहेको भन्दै प्रश्न गरेका छन् ।उनीहरूको प्रश्नमा मुख्यमन्त्री शाहीले निजी विद्यालयले निजीस्तरबाट विभिन्न सुविधासहित नाफामूलक ढंगले खोलिएका कारण सरकारले सामुदायिकभन्दा कम सुविधा दिने गरेको बताए ।
यस्तै, बालबालिकाले बालश्रम, बालविवाह, प्रदेशभर स्वास्थ्य सेवा उपलब्धतालगायत विषयमा पनि प्रश्न गरेका छन् । उनीहरूले राखेको जिज्ञासाबारे जवाफ दिँदै मुख्यमन्त्री शाहीले जनचेतनाको अभावका कारण कर्णालीमा बालविवाह न्यूनिकरण हुन नसकेको स्वीकारे गरे ।
ए.के. सञ्चार । २८ भाद्र २०७९, मंगलवार १३:५७