शान्ति प्रक्रिया लगायतका केही महत्वपूर्ण काम अझै हुन सकेका छैनन् : उपराष्ट्रपति पुन

काठमाडौं ।उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संविधानको पूर्ण पालन, संरक्षण र ससम्र्वद्धनका लागि आग्रह गरेका छन्। ‘संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिन्छ,’ उनले भनेका छन् ।

संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पुनले समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालन, संरक्षण र सम्वर्द्धन अनिवार्य शर्त रहेको बताएका छन् । ‘संविधान पालनमा केही चुनौती देखा परे पनि संविधानको कार्यान्वयनमा सन्तोषजनक अवस्था छ । संविधानअनुसार दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा भइ उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ ।

संविधानअनुसार विभिन्न संरचना र आयोगहरु बनेका छन्,’ उनले भनेका छन्, ‘शान्ति प्रक्रिया लगायतका केही महत्वपूर्ण काम भने अझै हुन सकेका छैनन् । सार्वभौम संविधानसभाबाट संविधान जारी भएको २०७२ असोज ३ गते नेपाली इतिहासकै सुनौलो दिन रहेको उनको भनाइ छ । ‘यो दिन प्राप्त गर्न भएका विभिन्न कालखण्डका जनआन्दोलन, जनयुद्ध र ०६२-०६३ को ऐतिहासिक जनआन्दोलन र अन्य आन्दोलनका आदरणीय सहिदहरूप्रति उच्च सम्मानसाथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ पुनले भनेका छन् ।