मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुको विरोधमा आज उजुरी दिन सकिने जानकारी दिएको छ ।

कुनै उम्मेदवार कानुनी रुपमा अयोग्य छ भन्ने लागेमा त्यस्ता उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।त्यस्तै मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने समय असोज २४ गते अपरान्ह ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म तोकिएको आयोगको निर्वाचन कार्यतालिका उल्लेख छ ।

उम्मेदवारहरुको नामावली प्रकाशन गर्न असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म छ । अन्तिम नामावलीमा रहेका उम्मेदवारहरुलाई २६ गते अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म चुनाव चिह्न वितरण गरिने आयोगको कार्यतालिका छ ।