काठमाडौं । आगामी मंसिर ४ गते हुने आमनिर्वाचन सामान्य निर्वाचन नभएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको भनाई छ । उनले मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता लगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ भएको बताएका छन् ।
प्रचण्डले मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन मात्रै हो भन्ने छुट नभएको भन्दै जनमत निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले प्रतिक्रियावादीहरुले माओवादी र त्यसको नेतृत्वमाथि निरन्तर प्रयास गरिरहेको उल्लेख गरेका छन् ।
अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिको खतरा अझैपनि कायम रहेको जिकिर गर्दै आफुहरुकै सक्रियताका कारण गत वर्ष केपी ओलीको प्रतिगमनलाई परास्त गर्न सकिएको बताएका छन् । निर्वाचन क्षेत्रमा प्रतिक्रियावादीहरु सल्बलाएको उल्लेख गर्दै प्रचण्डले त्यहाँ चलाइएका भ्रमलाई चिर्न जरुरी रहेको पनि बताएका छन् ।
ए.के. सञ्चार । २ कार्तिक २०७९, बुधबार ११:२६