राष्ट्रिय भलिबल : दोस्रो दिनको खेलमा पुलिस, कर्णाली, कोशी र गण्डकीको सानदार जित

सुर्खेत । वीरेन्द्रनगरमा जारी ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगितामा घरेलु टोली कर्णाली प्रदेशले मधेश प्रदेशलाई सोझो सेटमा पराजित गर्दै पहिलो जित हात पारेको छ ।


शनिवार भएको खेलमा कर्णालीले मधेशलाई २५-२०, २५-२१ र २५-१७ ले जित हात पारेको छ ।

पहिलो खेलमा कर्णाली आर्मीसँग ३-० को सोझो सेटमा पराजित भएको थियो भने मधेशले सुदूरपश्चिम प्रदेशलाई ३-२ को सेटमा हराएको थियो ।

साथै, नेपाल पुलिस क्लबले लुम्बिनीमाथि ३-० को सोझो सेटमा जित हात पार्‍यो । नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पुलिसले २५-१४, २५-१७ र २५-२१ ले जित हात पार्‍यो ।

यस्तै, शनिवारको अर्को खेलमा कोशी प्रदेशले बागमती प्रदेशमाथि ३-० को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको छ ।

शनिवारकै खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्न सफल भएको छ ।

पहिलो र दोस्रो सेटमा २५-२० र २५-१८ ले सहजै जितेको गण्डकीले तेस्रो सेट २२-२५ ले गुमाउन पुगेको थियो । तर प्रतिस्पर्धात्मक चौथो सेटमा २५-२२ ले जित्दै गण्डकीले ३ अंक ल्याउन सफल भयो ।

भोलि प्रतियोगितामा बागमती प्रदेश र नेपाल पुलिस कल्ब भिड्नेछन् । यस्तै गण्डकी र मधेश प्रदेश एकआपसमा भिड्दा एपीएफ र लुम्बिनी पनि खेल्नेछन् । यस्तै सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी कल्ब बिच हुनेछ ।