तेस्रो कर्णाली एक्सपो भाेलीदेखि सञ्चालन हुने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आजबाट सञ्चालन हुने भनिएको तेस्रो कर्णाली एक्सपो मङ्गलबार देखि सञ्चालन हुने भएको छ ।


अदालतकाे आदेशपछि महाेत्सव मंगलबार भाेलीनै उद्घाटन हुने आयाेजकले जानकारी दिएकाे छ । बिहान ११ बजे मंगलगढी चोकबाट झाँकीसहित शोभा यात्रा हुने बताइएको छ । महाेत्सवकाे उद्घाटन उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने छन् ।

फागुन १० गते अधिवक्ता प्रकाशबाबु ऐडीले बालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा कानुनी अधिकार हनन् हुनसक्ने भन्दै महोत्सव सञ्चालन कार्य रोक्न अदालतमा रिट निवेदन दायर गरेका थिए ।

सोमबार भएको आदेशमा कर्णाली एक्स्पो सञ्चालन हुने स्थल खेलमैदान, मेला र महोत्सव गर्ने भन्ने रहेकोले बालमन्दिर विद्यालयको पठनपाठन सकिएर मिति २०८० चैत १ गतेदेखि परिक्षा सञ्चालन हुने देखिएकोले अल्पकालीन अन्तरिम आदेशको निरन्तरता दिन नपर्ने आदेशमा उल्लेख छ ।

सोमबार उच्च अदालतका मुख्य न्यायाधीश लोहित चन्द्र शाह र न्यायाधीश खड्क बहादुर केसीको संयुक्त इजलासले कानुन बमोजिम एक्सपो सञ्चालनको कार्य गर्न आदेश दिएको हो ।

सोमबारको ईजलासमा निवेदकका तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, रिट निवेदक अधिवक्ता प्रकाशबाबु ऐडी, अधिवक्ताहरु दुर्गाप्रसाद सापकोटा, मातृकाप्रसाद खनाल, गीता कुमारी कोइराला, विनोदमणि भट्टराई, लबन न्यौपाने र शेरबहादुर खत्रीले बहस गरेका थिए ।

रिट निवेदनमा विपक्षी बनाईएको वीरेन्द्रनगर नगरपालिका लगायतको तर्फबाट अधिवक्ता कृष्णबहादुर हमाल, ध्रुबकुमार श्रेष्ठ र उत्तमप्रसाद आचार्यले बहस गरेका थिए ।