दलित समुदायको हक अधिकारप्रति सकारात्मक रहेको प्रधानमन्त्री देउवाको भनाई

काठमाडौं । दलित समुदायको हक अधिकारप्रति आफू सकारात्मक रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । प्रधानमन्त्री देउवाले संविधानप्रदत्त दलित समुदायको मौलिक हक र अधिकारलाई पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताए । राष्ट्रिय दलित आयोगका पदाधिकारीबाट आयोगका सिफारिस र सुझावहरू ग्रहण गर्दै प्रधानमन्त्री देउवाले आयोगको सुझाव र सिफारिस बमोजिम सरकारले संविधानले व्यवस्था गरेका हक अधिकार पूरा गर्दै जाने बताएका हुन ।

आयोगले प्रधानमन्त्री देउवालाई भेटेर दलित समुदायको समग्र विकासका लागि ५१ बुँदे सुझाव तथा सिफारिस गरेको छ । सरकारलाई आयोगका तर्फबाट दलित समुदायको आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक तथा समग्र विकासका लागि ५१ बुँदे सुझाव तथा सिफारिसहरू बुझाएको आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले जानकारी दिए ।