कर्णाली प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता आजबाट सुरु

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सबैले अपेक्षा गरेको प्रदेश रंगशालाको निर्माणको काम तिव्र गतिमा अघि बढेको बताएका छन् । प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सुर्खेतमा १ अर्व ७० करोड लागतमा रंगशाला निर्माणको काम अघि बढेको बताएका हुन् ।

कर्णाली प्रदेशको विकासका लागि खेलकुद पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सुरु गरेको रंगशाला निर्माणको काम फास्ट ड्रयाकमा पूरा हुने बताए । आफू मुख्यमन्त्री भए लगत्तै रंगशालाको शिलान्यास गरेको बताउदै उनले शिलान्यास कार्यक्रममै निर्माण कम्पनीलाई बोलाई समयमै काम सक्न निर्देश दिएका थिए’ ।

‘कर्णालीका खेलाडीले प्रतिस्पर्धा गर्न जादा खालि पेट जान पर्दैन ‘उनले भने,’ क्लोज क्याम्प र खेलाडीलाई खाजाको व्यवस्था अब कर्णाली सरकारले गर्छ ।” ३३ महिनामा कर्णाली प्रदेशको रंगशाला निर्माण हुने र समयमा सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कार्वाही गरिने उनले यस अघिनै चेतावनी दिईसकेका छन् ।

यस्तै प्रतियोगिता कार्यक्रममा खेल क्षेत्रलाई सहयोग र समन्वय गरि अगाडि बढ्ने नगर–प्रमुख देवकुमार सुवेदीले बताए । वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता बिहीबार (आज) बाट सुरु भएको छ ।
“स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद “ भन्ने नाराका साथ आज प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले संमृद्विका लागि सदैव तयार रहनुका साथै राष्ट्रमा मात्रै नभएर अन्तर्राष्ट्रियमा खेलकुद लैजान आफु सधैं तयारी रहेको बताए ।

उक्त तेक्वान्दो प्रतियोगिता तीन दिन सम्म चल्ने छ । प्रतियोगितामा कर्णाली प्रदेशका पाँच जिल्ला सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम र जुम्लाका खेलाडी सहभागी भएका छन् । उक्त प्रतियोगितामा ३ सय जना खेलाडी सहभागी भएका छन् । सो प्रतियोगिता कर्णाली प्रदेश तेक्वान्दो संघ वीरेन्द्रनगर सुर्खेतले आयोजना गरेको हो ।