गठबन्धनले जित्नु मुलुकको अगाडि हिड्ने बाटो निर्धारित हुनु हो –विश्वनाथ पौडेल

काठमाडौं । नेपाली कांग्रेसबाट चितवन १ का प्रतिनिधिसभा उम्मेदवार डा. विश्वनाथ पौडेलले अग्रगमन र विकासका लागि गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताएका छन् । चितवन १ को चुनावी प्रचार प्रसारका क्रममा उनले चुनाव भनेको चुन्ने कुरा भएकाले मंसिरको ४ चुनावमा अग्रगमन र विकास चुन्न आग्रह गरेका छन् । सत्ता गठबन्धनले चुनाव जित्दा मुलुक अग्रगमनतिर जाने र विकास पनि हुने पौडेलले उल्लेख गरेका छन् ।

गठबन्धनले चुनाव जिते संविधानको रक्षा र स्थायित्व हुने उनले जिकिर गरेका छन् । उनले गठबन्धनले जित्नु मुलुकको अगाडि हिड्ने बाटो निर्धारित हुनु भएको बताएका छन् । यो भन्दा यताउता भयो भने फेरि अस्थिरता निम्तिने र विकास नहुने उनको दाबी थियो ।

पूर्वी चितवनको विकासका लागि प्रतिनिधिसभा र प्रदेशमा गठबन्धनका उम्मेदवारलाई जिताउन उनको आग्रह छ ।उनले चितवन १ बाट अस्थिरताका कारकलाई जिताएर पठाउँदा विकास नहुँने बताएका छन् । योजना आयोगको उपाध्यक्ष हुँदा पूर्वी चितवनका विभिन्न खोलाहरुमा तटबन्ध निर्माणका काम थालेको उनको भनाइ छ ।